संविधान दिवस २०७९ को अवसरमा सभामुखज्यूको शुभकामना सन्देश


संविधान दिवस २०७९ को अवसरमा शुभकामना सन्देश

जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको ७ बर्ष पूरा भएको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवम् दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।
नेपाली जनताको दशकौं लामो अनवरत संघर्षको परिणामका रुपमा प्राप्त भएको नेपालको संविधान, २०७२ लागु भएको सात बर्ष पूरा भएको छ । संविधान जारी गरिएको यो विशेष दिनमा जनयुद्ध, जनआन्दोलन एवम् विभिन्न कालखण्डमा भएका संघर्षमा जीवन अर्पण गर्नु हुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते, अपाङ्ग एवम् बेपत्ता पारिनुभएका योद्धाहरुलाई उच्च सम्मान व्यक्त गर्दछु । संविधान निर्माण प्रक्रियामा योगदान गर्नु हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछु ।
संविधान जारी भएपछि संघीय संसद, प्रतिनिधि सभाको पहिलो कार्यकाल पूरा हुने चरणमा छ । यस अवधिमा संविधान रक्षाका लागि अनेक पहल पनि भए । हामीले लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु सम्पादन पनि गरेका छौ । संविधानमा मूलभूत लोकतान्त्रिक मूल्य मान्यता समेटिएका छन् । यसबीचमा भएका कमीकमजोरी सच्याएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान समृद्ध हुँदै जाने नै छ ।
संविधानको अभ्यासकै क्रममा स्थानीय तहहरुले आफ्नो एक कार्यकाल पूरा गरी दोस्रो कार्यकाल प्रारम्भ गरिसकेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाहरुको दोस्रो कार्यकालका लागि यही मंसिर ४ गते निर्वाचन हुँदै छ । संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान छ ।
अन्त्यमा, संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा आग्रह गर्दछु । यस दिवसले विवादलाई सम्वादमा रुपान्तरण गर्न, राष्ट्रिय एकता कायम गर्न र संविधानको निष्ठापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास लिएको छु ।
२०७९।०६।०३
                                                                                                 अग्निप्रसाद सापकोटा