कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख


सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताउनु भएको छ । 

आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी महिला सञ्जाल आवद्ध नेतृहरुसँगको भेटमा सभामुख सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नभएको स्पष्ट गर्नु भएको हो ।

‘अहिले त्यहाँ सहयोग भएन, त्यहाँ अलिकति अराजकता भयो, अनुशासन भएन भन्ने कुरा जो आईरहेको छ, त्यो सत्यमा आधारित छैन, त्यो सत्य छैन’ उहाँले भन्नु भयो । ‘एउटा त्यस्तो कुनै अबरोध गरेको कुरा, चाहे त्यो नीति तथा कार्यक्रम पास गर्ने कुरामा होस, चाहे त्यो बजेट पास गर्ने कुरामा होस, कुनै कुरामा पनि प्रतिनिधि सभाले बरु सहयोग नै गरेको छ, कार्यपालिकालाई कहिल्यै पनि असहयोग गरेको छैन’, उहाँले भन्नुभयो । 

सभामुख सापकोटाले दुइवटा संसद अधिवेशन चलाएको अनुभव सहित देशको सर्वाङ्गीण कुरामा ध्यान दिंदै व्यवस्थित ढङ्गले संसद सञ्चालनको तयारी हुँदै गर्दा हठात् संसद सञ्चालनमा अवरुद्धता आएको बताउनु भयो । ‘त्यसलाई सुचारु गर्नु पर्छ भनेर तपाइहरुले मात्रै होईन देशका सबै संविधान विद्हरु, कानुन विद्हरु, विधिवेत्ताहरु, राजनीतिक पार्टीका नेताहरु अधिकांसले चिन्ताकासाथ आवाज उठाइरहनु भएको छ’ उहाँले भन्नु भयो ‘त्यस सम्बन्धमा गम्भीरतापूर्वक चिन्तन मनन गरिरहेको छु, मैले परिस्थितिलाई धेरै गम्भीरतापूर्वक, जिम्मेवारीपूर्वक विष्लेषण, अध्ययन गरिरहेको छु ।’ 

सभामुख सापकोटाले पछिल्लो बर्षे अधिवेशन बहुआयामिक महत्वका साथ सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो । उहाँले छैंटौं अधिवेशनमा संविधान संसोधन गरेर नक्सा पास गर्दा संसदमा प्रकट भएको अभूतपूर्व एकताको स्मरण गर्नु भयो । सभामुखले संसदभित्र प्रतिपक्ष वा कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध नगरेको बताउँदै कुनै दिन पनि नारा नलागेको, ‘ह्वेल’ घेर्ने काम नभएको स्मरण गराउनु भयो । उहाँले संसदलाई व्यवस्थित ढंगले लोकतन्त्रको मुल्य मान्यता र आदर्शलाई स्थापीत गर्नका लागि, छलफलको वातावरण बनाउन भगिरथ मेहनत गरेको बताउनु भयो । सबै माननीय सांसद, सचिवालयका कर्मचारीहरु सबैले अहोरात्र खटेर, सबै अनुशासीत भएर सदन सञ्चालन गरेको उहाँको भनाई थियो ।  

सभामुखले यस्तो परिस्थितिमा सृजना गरिएको अबरोध बेठीक भएको बताउनु भयो । ‘अझ जिम्मेवारी पूर्वक अगाढि बढ्नुपर्छ भन्ने तपाइहरुको सुझावलाई धेरै सम्मानका साथ ग्रहण गर्छु’ उहाँले भन्नु भयो । संघीय संसद, सभामुख र प्रतिनिधि सभाको बारेमा चिन्ता र चासो व्यक्त गरेकोमा धन्यवाद ज्ञापन गर्दै उहाँले महिला नेतृहरुले गराएको ध्यानाकर्षणप्रति आफू गम्भिर रहेको बताउनु भयो ।

अन्तरपार्टी महिला सञ्जालका तर्फबाट ध्यानाकर्षण पत्र बुझाउँदै नेतृहरु शशी श्रेष्ठ, कमला पन्त, यशोदा सुवेदी लगायतले महिलाको अधिकार सुरक्षित भएको संविधान बचाउने विषयमा पहल लिन सभामुखलाई आग्रह गर्नु भएको थियो । 

२०७७ माघ १२