आइ पि यु को १४३ औं सम्मेलन सकेर सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्कियो


अन्तर व्यवस्थापिका संघ (आई पी यू) को १४३ औं सम्मेलनमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साताव्यापी स्पेन भ्रमणमा रहनु भएका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कनु भएको छ । सम्मेलनमा सहभागिता, सम्बोधन र द्वीपक्षीय र बहुपक्षीय भेटघाट एवं छलफलका विषयमा संघीय संसद सचिवालयको विज्ञप्ति ।
......................................................................................................................................
प्रेस विज्ञप्ति
यहि २०७८ मंसिर १० -१४ (26-30 Nov, 2021) सम्म स्पेनको म्याड्रिडमा अन्तर व्यवस्थापिका संघ (IPU) को आयोजना र स्पेनको संसदको व्यवस्थापनमा IPU को १४३ ‌औँ सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।
संघीय संसद्, प्रतिनिधिसभाका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा मा. देव प्रसाद गुरुङ, मा. लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य मा. प्रमिला कुमारी, मा. अगम प्रसाद वान्तवा राई, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सम्माननीय सभामुखको प्रमुख स्वकिय सचिव अर्जुन खत्री के.सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावसका कार्यवाहक राजदूत अर्जुन अधिकारी रहेको संसदीय प्रतिनिधिमण्डल कार्यक्रममा सहभागी भई आजै स्वदेश फर्कियो।
 
उक्त कार्यक्रममा "Contemporary Challenge to Democracy: Overcoming Division and Building Community" शीर्षकमा सम्माननीय सभामुखले सभालाई सम्बोधन गर्नु भयो । त्यस्तैगरी Standing Committee on Democracy and Human Rights, Standing Committee on Peace and International Security, Standing Committee on Sustainable Development र Standing committee on United Nations Affairs मा हुने विभिन्न छलफल कार्यक्रममा प्रतनिधिमण्डलले सहभागिता जनायो भने महिला संसद् सदस्यहरुको बैठकमा मा. प्रमिला कुमारी Panel Discussion on Strategies for Gender-Responsive Law Making मा सहभागी हुनुभयो। युवा संसद सदस्यहरुको बैठकमा मा. लक्ष्मी कुमारी चौधरीले General Debate र Draft Resolution on Legislation Worldwide to Combat Child Sexual Exploitation विषयको छलफलमा भाग लिनुभयो। सभामुख सापकोटाले IPU Governing Council को रणनैतिक महत्वको बैठकमा समेत सहभागिता जनाउनु भयो ।
सम्मेलनमा सम्बोधन गर्दै सम्माननीय सभामुखले लोकतन्त्र चुनौती रहित नरहेको, यसको जीवन्तता संसदीय अभ्यासमा रहेको, सूचना प्रवाहको सामाजिक संजालको साम्राज्य फैलिएको भएपनि गलत र अधुरो सूचना प्रवाहले जनविश्वासमा कमि हुने, विभेदको अन्त्य र सामाजिक न्यायका लागि अल्पसंख्यक सिमान्तकृत समुदायलाई मूलप्रवाहमा ल्याउनुपर्ने कुरा औंल्याउनुहुँदै नेपालले सन् २०१५ मा संविधान सभा मार्फत संविधान जारी गरी सहभागिता र समावेशी लोकतन्त्रको संस्थागत गरेको बताउनु भयो । उहांले IPU Assembly को माध्यमबाट गरिएको लोकतन्त्रको सुदृढिकरण, शान्ति र सुरक्षा प्रवर्धन अभियानमा ऐक्यबद्दता जनाउनु भयो।
IPU को १४३ औं सम्मेलनले म्याड्रिड घोषणा पत्र जारी गर्दै उक्त घोषणामा संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यमा शान्तिपूर्ण र समावेशी समाज निर्माण गर्ने विश्वभरका सरकारहरुको प्रतिज्ञामा सांसदहरुको पनि साझेदारी रहेको, संसदहरुले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै सँगसँगै गलत सूचना र अफवाहरु विरुद्ध पनि कदम चाल्नुपर्ने, नागरिकलाई खोप दिएर कोभिड विरुद्ध प्रतिरक्षा विकास गरे जस्तै सही सूचना दिएर र नागरिक शिक्षामा लगानी गरेर गलत सूचना र सार्वजनिक राय दुष्प्रभावित गर्ने प्रयास विरुद्ध प्रतिरक्षा विकास गर्नुपर्ने, आर्थिक असमानता, राजनीतिक मूलधारबाट केही समूहको वञ्चितिकरण जस्ता समस्या समाधान गर्न बलियो राजनीतिक संकल्प चाहिने, आफ्नो बोली र व्यवहारमा लोकतान्तिक मूल्यप्रति सम्मान प्रदर्शन गर्ने दायित्त्व राजनीतिक नेतृत्व र निर्वाचित अधिकारीहरुमा रहेको, प्रतिनिधिमूलक र जवाफदेही भएर तथा निर्वाचनका समयका प्रतिज्ञा पूरा गरेर राजनीतिक दलहरुले लोकतान्त्रिक पद्धतिप्रति जनताको गुम्दो विश्वास फर्काउनु पर्ने कुरा औंल्याईएको छ ।
त्यसैगरी म्याड्रिड घोषणाले राजनीतिक सम्झौता लोकतान्त्रिक प्रक्रियाको केन्द्रविन्दु रहेको र दलीय राजनीतिभन्दा सार्वजनिक हितलाई माथि राखी राजनीतिक फरकबीच सहकार्य गर्न सक्ने तत्परताले नै दिगो सामाजिक शान्ति कायम गर्ने विश्वास ब्यक्त गर्दै, संसद र विविधतामा रहेका समुदायबीच बलियो सम्बन्ध बनाई, जोखिममा रहेका र सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखी समावेशी राजनीतिक प्रणाली स्थापना गरी संसदले महिला, युवा, अल्पसंख्यक र सीमान्तकृत समुदायको प्रतिनिधित्व बढाई समावेशी हुनुपर्ने र विपद व्यवस्थापन रणनीति जवाफदेही हुनुपर्ने तर्फ ध्यानाकर्षण गराएको छ ।
सहभागीहरुबाट लोकतन्त्रमाथिका चुनौतीहरु सामना गर्न आफ्नो भूमिका र जिम्मेवारी स्वीकार गर्दै, एकअर्काका सफलता र असफलताबाट सिक्दै, प्रभावकारी नेतृत्व प्रदान गर्न दृढ र नवीन पहल गर्नु आवश्यक भएको आत्मसात गर्दै चुनौतीहरुलाई जित्दै समुदाय निर्माण गर्न र लोकतान्त्रिक मूल्यमान्यता र संस्थाहरुको सम्वर्द्धन गर्न सामुहिक प्रतिवद्धता व्यक्त भयो।
यसैविच November 28, 2021 मा स्पेनको म्याड्रिडमा आयोजना भएको Meeting of the Parliamentary Network of the Non-Aligned Movement मा समेत सम्माननीय सभामुखले भागलिई सम्बोधन गर्नुभयो । उहाँले असंलग्न राष्ट्रहरूको अभियान NAM को सान्दर्भिकता वर्तमान सन्दर्भमा अझ बढेर गएको, विश्व शान्तिमा पैदा भएका चुनौती, लोकतन्त्रको अभ्यासमा हुने हस्तक्षेप र विभेदकारी व्यवहारले विकासशील राष्ट्रहरुको आर्थिक, सामाजिक र राजनीतिक समस्याबाट मुक्ति हुन यो अभियान कामयावी हुने बताउनु भयो ।सदस्य राष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि निरन्तर आवाज उठाउनुपर्ने र यस्तो कार्यक्रमबाट अनुभव आदानप्रदान तथा संसदीय ऐक्यवद्दता रहने र नेपालको संघीय संसद लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न कटिबद्ध रहेको बताउनुभयो ।
भ्रमणका क्रममा सभामुख सापकोटाले स्पेनस्थित लुम्बिनी गार्डेनको कार्यालय अवलोकन गरी जानकारी लिनुका साथै लुम्बिनी गार्डेन र एन.आर.एन.ए. स्पेनका अधिकारीहरुसँग संयुक्त छलफल गर्नु भएको थियो । सम्मेलनका अवसरमा दक्षिण कोरिया, मंगोलिया, जर्जिया, स्पेन, पोर्चुगल, पाकिस्तान, अजरबैजान लगायतका उच्चस्तरीय प्रतिनिधिमण्डलसंग द्वीपक्षीय र बहुपक्षीय भेटघाट र छलफल समेत भएको थियो ।
डा. रोजनाथ पाण्डे
प्रवक्ता
मिति : २०७८ मङ्सिर १६ गते