सम्माननीय सभामुख सापकोटा र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका महामहिम अध्यक्ष लि चाङ्सु वीच भर्चुअल बैठक सम्पन्न


संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र जनबादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका महामहिम अध्यक्ष लि चाङ्सु वीच भर्चुअल बैठक सम्पन्न भएको छ । यस सम्बन्धि प्रेस विज्ञप्ती 
...........................................
 
प्रेस विज्ञप्ति
 
यहि २०७८ चैत्र २५ (०८ अप्रिल, २०२२) मा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र जनबादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका महामहिम अध्यक्ष लि चाङ्सु वीच भर्चुअल माध्यमबाट दुवै देशका संसद, मैत्री सम्बन्ध, देशको विकास तथा अन्य जनहितका विषयमा द्विपक्षीय छलफल सफलतापूर्वक सम्पन्न भयो। बैठक सम्माननीय सभामुखको कार्यकक्षबाट अपरान्ह १:४३ बजे शुरु भई करीब सवा घण्टा चलेको थियो ।
आपसी अभिवादनबाट औपचारिक रूपमा शुरु भएको उक्त बैठकमा अध्यक्ष लि चाङ्सुले अभिवादन गर्दै छलफल शुरु गर्नुभएको थियो । दुर्इ देशबीच उच्चस्तरीय भ्रमण तथा विचार आदानप्रदान नेपाल र चीनबीच रहिआएको सम्बन्ध, विगतमा नेपालका सभामुख तथा ससंदका माननीय सदस्यहरुले गर्नु भएको मित्र राष्ट्र चीनको भ्रमणहरुले नेपाल र चीन युगौंदेखि भूगोल, संस्कृति तथा परम्पराहरुले नजिकबाट जोडिएको बताउनु हुँदै  सम्बन्धको जग जनस्तरसम्म फैलिएको, व्यापक र सुमधुर रहेकोले थप गौरवान्वित हुन पाएको
बताउनु भयो । उहाँले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको लागि चीनले  सम्मान गर्ने बताउनु हुँदै कोरोना महामारीको प्रभावकारी नियन्त्रण, रोकथाम र प्रतिकार्यमा चीनले नेपाललाई सहयोग गरेको र यस प्रकारको सहयोगले सरकार सरकारबीच मात्र नभै जनस्तरको सम्बन्धलाई समेत अझ व्यापक र प्रगाढ बनाउन थप मद्दत पुग्ने कुरामा जोड दिनु भयो । नेपालमा चीनले विगत लामो समय देखि विकास निर्माण, अर्थतन्त्र विकास, स्वास्थ्य उपचार र सांस्कृतिक सम्बन्ध विकासमा योगदान पुर्याएको बताउनु भयो । भूकम्प, महामारी लगायत विपद्का समयमा नेपाल चीन आपसमा भरपर्दो छिमेकि रहेको बताउनु भयो । खासा, केरुङ लगायतबाट हुने व्यापार तथा आवतजावतलाई सुलभ तुल्याइने र नेपालको खेलकुद तथा शिक्षाको विकासमा चीनले योगदान दिने बताउनु भयो ।
भर्चुअल बैठकको आयोजना प्रस्ताव गर्नु भएकोमा चिनियाँ मित्रहरुलाई हार्दिक आभार प्रकट गर्दै संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुख छलफलमा सरिक हुनुभयो। उहाँले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको लागि चीनको निशर्त सम्मानको खुला दिलले प्रंशसा गर्नुभयो। आगामी दिनमा समेत नेपाल चीनसम्बन्ध अझ प्रगाढ र परिष्कृत वनाउन संघीय संसदले कुनै कसर बाकीँ नराख्ने  विश्वास दिलाउनु भयो । दुवै देशका विधायिकीहरुमा स्थापित Nepal-China Parliamentary Friendships Groups ले गरेको योगदानलाई कदर गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्ध विस्तारमा थप सक्रिय भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो । नेपाल र चीनले अन्तर-व्यवस्थापिका संघ (Inter-Parliamentary Union) मा साझा चासो र सरोकारका विषयहरुमा सक्रिय भूमिका निर्वाह गरेको र इन्डोनेसियाको Nusa Dua मा सम्पन्न भएको 144‍औ IPU को महासभामा दुवै राष्ट्रका प्रतिनिधिमण्डलले रचनात्मक भूमिका खेलेकोमा सह्राहना व्यक्त गर्नु भयो ।
  
सम्माननीय सभामुखले दुई देश बीचको यो सम्बन्धलाई आजको स्तरमा ल्याइपुर्याउनको लागि समग्र संघीय संसद, प्रतिनिधि सभाका माननीय सदस्यहरुको समेत महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल चीन सम्बन्ध अझ प्रगाढ र परिस्कृत बनाउन संघीय संसदले कुनै कसर बाँकि राख्ने छैन भन्नु भयो । उहाँले आर्थिक विकास, सांस्कृतिक पुनर्जागरण, प्रविधिको विकासद्वारा समग्र राष्ट्रिय शक्तिको निर्माणमा प्राप्त गरेको अभूतपूर्व प्रगतिको उच्च प्रशंसा गर्दै यो नेपालका लागि समेत विकास र समृद्धिको मार्गदर्शक हुन सक्ने विश्वास व्यक्त गर्नु भयो ।
सम्माननीय सभामुखले महामहिम राष्ट्रपति सिको नेपाल भ्रमणका अवसरमा तथा त्यस पूर्व र पश्चात भएका महत्वपूर्ण समझदारीहरु कार्यान्वयनका चरणमा रहेकोमा कोभिड १९ को कारण केहि असहजता भएपनि समयमा नै सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नु भयो । उहाँले चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार, विदेशी लगानीको पहिलो स्रोत मुलुक भएको तथा पर्यटन क्षेत्रमा समेत ठूलो हिस्सा रहेको चर्चा गर्दै कोभिड कम हुँदै जाँदा सहकार्य बढ्दै जानेमा आशाबादी रहेको बताउनु भयो । कोरोना महामारीको  प्रभावकारी नियन्त्रण, रोकथाम र प्रतिकार्यमा चीनले गरेको सफलता विश्व समुदायको लागि समेत उदारणीय रहेको र नेपालमा कोरोना महामारीको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि शुरुवात देखि नै चीनले उपलब्ध गराएको सहयोग तथा चीन सरकारबाट प्रदान गरिएको खोप र अन्य स्वास्थ्य सामग्री, उपकरण लगायतको सहायताको लागि चीन सरकारप्रति कृतज्ञता व्यक्त गर्नु भयो ।
बैठकमा सम्माननीय सभामुखले कोभिड १९ पछि सिमित परिमाणमा आयात–निर्यात भइरहेका नेपाल चीनबीचको तातोपानी र केरुङलगायतका नाकाहरुलाई अझ व्यवस्थित,  विस्तार र सहज ढंगले सुचारु गर्न चिनियाँ पक्षसँग आग्रह गर्नु भयो ।
भर्चुअल बैठकमा नेपालका तर्फबाट संघीय संसद सचिवालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू र चिनियाँ पक्षबाट राष्ट्रिय जन कांग्रेसका विभिन्न समितिका अध्यक्ष र परराष्ट्र मन्त्रालयका उपमंत्रीहरूको समेत उपस्थिति रहेको थियो । बैठकका क्रममा दुवै पक्षबाट नेपाल चीन सम्बन्धका विविध पक्षमा गहन विचार आदान प्रदान हुनुका साथै दुई देशका संसद् वीच उच्च स्तरीय भ्रमणको आदान प्रदान निरन्तर हुनुपर्नेमा जोड दिइएको थियो । अन्तमा राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सु र सम्माननीय सभामुखले आपसमा अनुकुल समयमा भ्रमण गर्न निम्तो आदानप्रदान गर्नु भयो । दुवै मुलुकका विधायिकीहरुबीचको यस्ता भ्रमण र विचार आदानप्रदानले थप घनिभूत सम्बन्ध स्थापना हुने निष्कर्षमा पुग्दै आगामी दिनमा यसलाई निरन्तरता दिने गरी छलफल समापन गरिएको थियो ।
 
डा. रोजनाथ पाण्डे
प्रवक्ता
मिति : २०७८ चैत्र २५ गते