विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना


विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्माननीय सभामुखज्यूको शुभकामना सन्देश

विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारजगत् सम्बद्ध सबैमा हार्दिक बधाईएवं शुुभकामना व्यक्त गर्दछु । नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति भएका संघर्षहरुमा आफ्नो अमूल्य जीवन अर्पण गरेका सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
 
हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै समग्र प्रेस जगतले राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले निर्वाह गरिरहेको भूमिकाको सुक्ष्म निगरानी र खबरदारी गर्दै आएका छन् । जसका कारण राज्यका तीनवटै अंगलाई सजग र सतर्कतापूर्वक कार्य सम्पादन गर्न र आम नागरिकलाई सत्य अन्वेषण गर्न मद्दत पुगिरहेको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो । यो लोकतन्त्रको सुन्दर पक्ष त हुँदै हो, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्रलाई उन्नत बनाउन विशेष भूमिका खेलेको छ । प्रेस जगतको यो भूमिकाको खुला हृदयले प्रशंसा गर्दछु । नेपाली सञ्चार जगत संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ मजबुत एकताका साथ निर्भयपूर्वक लागिरहने छ भन्ने अपेक्षा गरेको छु ।
संघीय संसदको नेतृत्वका हिसाबले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सधैं साथमा रहेको विश्वास दिलाउन चाहन्छु । विश्व प्रेस स्वतन्त्रता दिवसले सञ्चार आबद्ध सबैमा उर्जा, हौसला र उत्प्रेरणा मिलोस भन्ने कामना गर्दछु ।
२०७९/०१/२० (३ मे, २०२२)
अग्निप्रसाद सापकोटा