सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता



संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच भेटवार्ता भएको छ  ।  


अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उहाँहरुबीच शुक्रबार अपरान्ह भेटवार्ता भएको हो । भेटमा सभामुख सापकोटाले अजरबैजानले असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनको सफल आयोजना गरेकोमा बधाई ज्ञापन गर्नु भयो ।
 
उहाँले असंलग्न आन्दोलनका आदर्शहरू महत्वपूर्ण भएको बताउँदै यसका आदर्श र एजेन्डाहरूप्रति अजरबैजानले जनाएको प्रतिबद्धताको प्रशंसा गर्नु भयो । भेटमा सभामुख सापकोटाले अन्तराष्ट्र्रिय एकताको प्रयासबाट मात्र विश्वव्यापी चुनौतीहरूको समाधान गर्न सकिने धारणा राख्नु भयो । अजरबैजानसँग नेपालको लामो कुटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै उहाँले २०७२ सालको भुकम्प पछिको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नु भयो ।

सभामुख सापकोटाले स्वतन्त्रता प्राप्तिपछि अजरबैजानले गरेको विकासको प्रशंसा गर्दै अन्तराष्ट्र्रिय मञ्चहरुमा मिलेर काम गर्न सकिने धारणा राख्नु भयो । भेटका क्रममा उहाँले नेपाल र अजरबैजानको संसदका बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदीय मैत्री समुह निर्माणको प्रस्ताव गर्नु भयो ।
भेटमा अजरबैजानका सभामुख गफारोवाले नेपालको सभामुख सहितको प्रतिनिधि मण्डललाई आफ्नो देशमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै सहभागिता र सम्बोधनका लागि आभार व्यक्त गर्नुभयो । यस अघि स्पेनमा भएको अन्तर व्यवस्थापिका संघको बैठकका क्रममा भएको भेट स्मरण गर्दै गफारोवाले नेपालसँग संसदीय मैत्री समुह बनाउन अजरबैजानको संसद तयार रहेको बताउनु भयो ।
 
भेटमा नेपाली प्रतिनिधि मण्डलका सदस्यहरु पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी हुनुहुन्थ्यो । बाकुमा जारी सम्मेलनमा सहभागि हुन यहि असार १४ गते त्यसतर्फ प्रस्थान गरेको सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधि मण्डल असार १९ गते साँझ नेपाल फर्कने समय तालिका छ ।
२०७९ असार १८